चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको उहाँले बताउनुभयो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।रासस