महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एन्ड प्रशंसा बङ्गुर फार्मका सञ्चालक कृष्ण विकले १२ फार्म अफ्रिकन स्वाइन फिवरको महामारीले रित्तिएको बताउनुभयो । “दस वर्षदेखि बङ्गुर पाल्दै आएको थिए, यस्तो महामारी कहिल्यै आएको थिएन्”, उहाँले भन्नुभयो, “यसपालि मेरो फार्ममा मात्र रु ३० लाख मूल्यका ६० बङ्गुर मरे, एउटा पनि बाँकी रहेन ।” सबै फार्ममा रु दुई करोड मूल्य बराबरको क्षति भएको विकले बताउनुभयो । जिल्ला सदरमुकाम बेनी बजारको नजिकै रहेको अग्निखेतमा एकै ठाउँमा धेरै बङ्गुर फार्म छन् । यहाँका कृष्ण विक, टीका रोका, पूर्वराज घर्ती, नरे रोका, देवेन्द्र कामी लगायतका कृषकले अग्निखेतमा बङ्गुर पाल्नुभएको थियो । कृषक टीका रोकाले बङ्गुरपालन व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो । “तत्काल नयाँ बङ्गुर पाल्न सक्ने वातावरण र हैसियत छैन, पेसाबाट नै विस्थापित हुनुपर्ने भयो”, उहाँले भन्नुभयो, “घरव्यवहार चलाउन र छोराछोरी के गरेर पढाउने भन्ने चिन्ताले पिरोलिएका छौँ ।” पोखराबाट बङ्गुर ल्याएपछि अग्नीखेतमा अफ्रिकन स्वाइन फिवर भित्रिएको हो ।रासस