जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिनुपर्ने तथा उहाँहरू फरक–फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस्तै राष्ट्रपति–उपराष्ट्रपति पनि फरक–फरक लिङ्ग र समुदायको हुनुपर्ने प्रावधान छ । नयाँ र पुराना गरी कूल १२ दलको सहभागिता रहेको वर्तमान प्रतिनिधिसभामा बिल्कुल नयाँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी छन् । संविधानसभाबाट नेपालको संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि भएको आमनिर्वाचनबाट गठित प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी ८९ स्थान प्राप्त गरेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ । तेस्रो बढी स्थान प्राप्त गर्ने दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ मध्ये आधा–आधा अर्थात् छ÷छ राजनीतिक दल सत्तापक्ष र प्रतिपक्षको कुर्सीमा विभाजित भए । सदनमा दायाँतिर नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका सांसद रहनुभयो ।रासस