वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर (दक्षिण) नझरे पनि नीलगाई, बँदेल र हरिण हुल मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । “हाम्रो बस्तीमा बाँदर र दुम्सी त देखिएका छैनन्, तर घोडगदाहा (नीलगाईलाई यहाँका स्थानीयले भन्ने नाउँ) र बँदेलले भने दुःख दिएर आजित बनाएका छन्”, वन क्षेत्रबाट २० किलोमिटर दूरीको भङ्गाहा–४ पलार बस्तीका किसान सत्यनारायण चौधरी भन्नुहुन्छ, “चिसो स्याँठमा रातरातभरि यिनलाई लघार्न खेत कुर्नुपर्छ ।” नीलगाई र बँदेलले आजित बनाएको बताउने उहाँ हरिण र हात्ती भने कहिलेकाहीँमात्र देखिने गरेको बताउनुहुन्छ । “हरिण पनि समूहमै आउँछन्, तर पातलो, हात्तीचैँ दुईचार वर्षमा देखिन्छन्”, स्थानीय महेश सर्दारले भन्नुभयो ।