बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए । हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य हुनुहुन्छ । गत मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ५१ वर्षीय जमकट्टेल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट निर्वाचित हुनुभएको थियो । विसं २०३० मा धादिङको किरानचोक गाविसमा जन्मिनुभएका जम्मकट्टेलले २०४४ साला अखिल छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरूआत गर्नुभएको हो । विसं २०४८ देखि मजदुर आन्दोलनमा सक्रिय उहाँ माओवादीले सञ्चालन गरेको सशस्त्रद्वन्द्वमा सुरुआतदेखि आबद्ध हुनुहुन्थ्यो । विसं २०६० देखि एक दशकसम्म माओवादीको मजदुर सङ्गठनको नेतृत्व सम्हाल्नुभएका जमकट्टेल २०६३ को अन्तरिम संसद् र २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।रासस