बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सदस्यहरूमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउँदै मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने बताउनुभयो । “बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाको रुपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।”, गोल्यानले भन्नुभयो । बैंक तथा वित्तीय संस्थाहरूले सरकार, नियामक निकाय र सरोकारावाला संस्थासँग निरन्तर सहकार्य गर्दै उहाँले तीव्र आर्थिक गतिविधिमार्फत् राष्ट्रको अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।रासस