अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उहाँहरूले उक्त कदमलाई “लोकतन्त्रमाथिको आक्रमण” भन्दै निन्दा गर्नु भएको हो । ट्वीट गर्दै राष्ट्रपति बाइडेनले ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ। राष्ट्रपति बाइडेनले लेख्नु भएको छ- “म ब्राजिलमा लोकतन्त्र र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा भएको आक्रमणको निन्दा गर्दछु। ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति हाम्रो पूर्ण समर्थन छ र ब्राजिलका जनताको इच्छालाई कमजोर पार्नु हुँदैन। म लुला प्रशासनसँग काम गर्न चाहान्छु।” त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले “ब्राजिलको प्रजातान्त्रिक संस्थाहरूमा भएको आक्रमणको” निन्दा गर्नु भएको छ । उहाँले ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनु भएको छ। “आज भएको ब्राजिलको लोकतान्त्रिक संस्थाहरूमा भएको आक्रमणको म निन्दा गर्दछु। ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाहरूको इच्छालाई सम्मान गर्नुपर्छ। मलाई पूर्ण विश्वास छ कि यो हुनेछ। ब्राजिल एक महान लोकतान्त्रिक देश हो,” गुटेर्रेसले ट्वीटमा लेख्नु भएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सो आक्रमणको निन्दा गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्न हिंसाको प्रयोग “अस्वीकार्य” भएको पनि उल्लेख गर्नु भएको छ । एन्टोनी ब्लिन्केनले भन्नुभयो “हामी आज ब्राजिलको प्रेसिडेंसी, कङ्ग्रेस र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गर्दछौं। प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्न हिंसाको प्रयोग सधैं अस्वीकार्य छ। हामी यी कार्यहरूको तत्काल अन्त्य गर्न आग्रह गर्दछौं।”रासस