पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसी भएका हुन् । भर्खरै मात्र ५० शय्याको भवन निर्माण सम्पन्न भएको सो अस्पतालमा अहिले जेनरल सर्जरी डा प्रान्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा देउमान लिम्बू, एनेस्थेसियोलिष्ट एण्ड क्रिटिकल केयर डा गणेश वनलाई विशेषज्ञ चिकित्सकका रुपमा अस्पतालले नियुक्ति दिएको हो । अब नयाँ विशेषज्ञ चिकित्सक आएपछि अस्पतालबाट हाडजोर्नी तथा नशारोग ओपिडी सेवा, हाडजोर्नी रोगसम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओपिडी सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा उपलब्ध गराउन थालिएको पाँचथर अस्पताल विकास समितिका अध्यक्ष रामराज आङदेम्बेले बताउनुभयो । पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अहिले अस्पतालमा चार विशेषज्ञ चिकित्सक रहेका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैँले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशारोग विशेषज्ञ राखिएको छ । यस्तै छात्रवृत्तिमा रहेका दुई चिकित्सकलाई अस्पतालले थप सुविधा दिएर राखेको छ ।