सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी जडान गर्न सकिएको छैन । नेपाल प्रहरीको अभिलेखले पनि धेरै घटना सिसिटिभी को श्रव्य दृश्यकै आधारमा अनुसन्धान गरी निष्कर्षमा पुगिएको र कारबाही भएका छन् । समाजमा शान्तिसुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारबाही गर्न, चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलापलाई न्यूनीकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउन सिसिटिभी प्रभावकारी रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउनुहुन्छ । उहाँले प्रमाण बेसमा काम हुने भएकाले सिसी क्यामेरा महत्त्वपूर्ण रहने र अझै धेरै ठाउँमा आवश्यक भएको बताउनुभयो । गत साउन २४ गते दिउँसो काठमाडौँ लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा फर्किनन् । साँझ प्रहरीकहाँ जानकारी पुगेपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सिसिटिभी फुटेजका आधारमा उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लाग्यो । चालक फेला पारी सोधपुछ गरेपछि प्रहरीले किशोरीलाई फेला पार्न सफल भयो ।रासस