सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनुभयो । उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । आव २०७४/०७५ देखि २०७७/०७८ सम्म ७८ जनाको नाममा कीर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । यो प्रकरणमा रु ८३ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ । मियाँसमेत २१ जनाले एकआपसमा मिलेमतो गरी एक अर्कालाई फाइदा पु¥याउने उद्देश्यले सो काम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्याउन सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बरसमेत प्रचलनमा ल्याएको प्रनाउ सिंहले बताउनुभयो ।रासस