नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ । आगामी माघमा थप दुई बैंक एकापसमा गाभिँदैछन् । राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’को नीतिअनुसार अन्य केही बैंकले पनि एकापसमा गाभिनका लागि पहल गरिरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ बैंक एकापसमा गाभ्ने÷गाभिने (मर्जर) प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर चार कायम भए । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडका नामबाट पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुँदैछ । त्यस्तै प्रभु बैंक लिमिटेडले सेन्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गरेर ‘प्रभु बैंक लिमिटेड’ को नामबाट पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन् । हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएका छन् । आगामी माघभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ ।रासस