सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गर्नुभयो । उहाँले राष्ट्रपति भवन शीतलनिवासदेखि ललितपुरको पाटनसम्म साझा यातायातमा यात्रा गर्नुभएको हो । राष्ट्रपति भण्डारी पाटन क्षेत्रका सम्पदा, मदन पुरस्कार पुस्तकालय, पिम्बहाः पुखुलगायतका ऐतिहासिक धरोहरको अवलोकनका लागि त्यहाँ पुग्नुभएको थियो । राष्ट्रप्रमुख साझाको बिजुली बसमा सवार हुँदा आम नागरिकमा सार्वजनिक यातायातप्रति सकारात्मक सन्देश गएको छ । त्यसले ल्याएको उत्साह सार्वजनिक यातायात चलाउँदै आएका चालक वर्गमा पनि प्रवाहित भएको छ । महाराजगञ्जबाट पाटनढोकासम्म राष्ट्रपतिसहित २८ जनालाई यात्रा गराउनुभएकी चालक हर्मिता श्रेष्ठको अनुभूति पनि गर्विलो छ । हर्मिताको संयोग र राष्ट्रप्रमुखको यात्राले जीवनभरको पेसाप्रति सम्मान थपेको मात्र छैन उहाँमा आफ्नो पेसाप्रति भरोसा पनि जागेको छ । २१ वर्षे पेसा अवधिमा आफूले पाएको अवसर जीवनभर स्मरणीय रहने हर्मिताको प्रतिक्रिया छ । उहाँले भन्नुभयो, “सर्वसाधारणदेखि राष्ट्राध्यक्षसम्मलाई यात्रा गराउन पाउनु मेरा लागि महत्वपूर्ण अवसर हो । यसले पेसाप्रति गौरवान्वित तुल्याएको छ ।” राष्ट्रपतिलाई बसमा चढाएर साझा यातायातले उपलब्ध गराएको टिसर्ट, क्याप र मास्क लगाएर ड्राइभिङ सिटमा बस्दा अत्यन्त खुशी अनुभूत गरेको उहाँले सुनाउनुभयो । “देशको अति विशिष्ट व्यक्ति, त्यसमा पनि महिला, उहाँलाई राखेर बस अगाडि बढाउँदा महिला चालक हुनुमा गर्वले छाति फुलेको अनुभव भयो”, हर्मिताले भन्नुभयो, “अरु दिन धुलो धुवाँलाई छिचोल्दै लामो समय सडकमै बिताउने म, शनिबार मेरा लागि विशेष दिन रह्यो ।”रासस