श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख रामउदार अधिकारीले सातै प्रदेशबाट श्रम स्वीकृति सेवा दिने सरकारको नीतिअनुसार जनकपुर कार्यालयबाट सेवा प्रदान गरिने जानकारी दिनुभयो । उहाँले अब जनकपुरबाट व्यक्तिगततर्फ पुनःश्रम स्वीकृति (नवीकरण) र पहिलो पटक विदेश जाने व्यक्तिको श्रम स्वीकृति तथा संस्थागततर्फका पूर्व र अन्तिम श्रम स्वीकृति गरी तीन प्रकारका सेवा प्रवाह हुने अधिकारीले जानकारी दिनुभयो । यसअघि यहाँबाट व्यक्तिगततर्फ पुनःश्रम स्वीकृति (नवीकरण) सेवा मात्रै प्रवाह हुने गरेको थियो । “पहिले यहाँ (जनकपुर) बाट व्यक्तिगततर्फ पुनःश्रम स्वीकृतिको काम मात्रै हुने गरेको थियो । सरकारको नीतिअनुसार अब थप दुई प्रकारका सेवा पनि सुरु भएका छन्”, निमित्ति प्रमुख अधिकारीले भन्नुभयो, “यस कार्यले श्रम स्वीकृतिका लागि काठमाडौँ जानै पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ ।” उहाँले यसअघि अनलाइनमार्फत घरबाटै आवश्यक प्रक्रिया गर्न सक्ने हुँदा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भइसकेकाले अब जनकपुरबाटै सबै काम हुने भएपछि यहाँका नागरिक थप लाभान्वित अपेक्षा व्यक्त गर्नुभयो ।रासस