थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेका गाउँ–गाउँमा माघी मेलाको तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघको ४ गतेसम्म लाग्ने माघी मेलाको धमाधम तयारी भएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिनुभयो । उहाँका अनुसार माघी मेलामा यस वर्ष राष्ट्रियस्तरका ख्याती प्राप्त थारु कलाकारको प्रस्तुतिसँगै थारु गाउँको पनि कक्ष रहने छ । यसवर्ष नयाँ अभ्यासका रुपमा थारु गाउँको छुट्टै कक्ष राखेर थारु गाउँ सञ्चालनमा ल्याउने तयारी भएको छ । मेलामा करिब पाँच सय कक्ष राखेर महोत्सवकै रुपमा लैजाने तयारी भएको स्थानीय कलाकार विश्वसागर परियारले जानकारी दिनुभयो । महोत्सवस्थलमा रहेको भुवरभवानी मन्दिर रङ्गरोगन, मैदान ममर्त र प्रदर्शनी कक्ष दर्ताको काम भइरहेको उहाँले बताउनुभयो । माघी पर्वका अवसरमा थारु गाउँमा सञ्चालन भएका माघी मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहेको राप्तीसोनारी–३ का अगुवा तुलसीराम थारुले बताउनुभयो । उहाँका अनुसार राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन आउने गरेका छन् । “भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”rss