मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गर्नुभयो । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहनुभएको छ । विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहनुभएको छ । फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक रु १५ देखि २० हजारसम्मको व्यापार हुने गरेको छ । विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई जानुभएको थियो । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गर्नुभयो । विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या प¥यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाल्नुभयो । तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देख्नुभयो र आफ्ना श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गर्नुभयो ।
