पर्वत जिल्लामा करोडाैँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालनमा भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधँै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन् । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा दुई दशकलव पाँच मेट्रिक टन क्षमताका चिस्यानगृहमा सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ । “हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गछौँ, सोही अनुसार सञ्चालनमासमेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन सकेका छैनौँ”, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले भन्नुभयो । उहाँले राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माण पश्चातका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत् लगायतका पक्षमासमेत यथोचित ध्यान दिनुपर्ने बताउनुभयो । थापाले चिस्यागृह निर्माण गरे पनि किसानले भण्डारण नगरी ठेक्कामै उत्पादन बिक्री गर्ने परिपाटी विकसित हुँदै गएकोे बताउनुभयो । कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञानको अभावमा फसल लामो समयको लागि स्टोर गर्न समस्या भएको देखिएको उहाँको तर्क छ । पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको चिस्यानगृहमा भने आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको चिस्यानगृहमा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिनुभयो । रासस