थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँपुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँपुस्ताको अग्रसरता बढ्दै गएको हो । विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिका सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी १५ वर्षीया अनिता चौधरी बताउनुहुन्छ । कक्षा ११ मा अध्ययनरत अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्नुहुन्छ । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिकरुपमा केही आम्दानीसमेत हुने गरेको छ ।” अनिता जस्तै घोराही–१७ निवासी सुस्मीता चौधरी पनि संस्कृति संरक्षणमा जुट्नुभएको छ । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहना लगाउनदेखि नाच्न लजाउने सुस्मीता पछिल्लो समय जातीय वेषभूषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको उहाँ बताउनुहुन्छ । सुस्मीताले थारुको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सखिया नाच नाच्नसमेत सिक्नुभएको छ ।रासस