सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै दरबन्दीअनुसार स्थायी छन् भने नौजना छात्रवृत्तिका चिकित्सक हुन् । दरबन्दी अनुसारका विषय विशेषज्ञ चिकित्सक नहुँदा यस क्षेत्रका बिरामीहरूलाई उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ । अठार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल तीनजना मात्रै मेडिकल अधिकृत छन् । यसअघि आठजना मेडिकल अधिकृत थिए । उहाँहरू छात्रवृत्तिबाट अध्ययन सकेर आउनुभएको थियो । उहाँहरू दुई वर्ष काम गरेर जानुभयो । अठार जना मेडिकल अधिकृतमध्ये तीनजना मात्रै हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा चेतराज भट्टले बताउनुभयो ।रासस