नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ । जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउनुहुन्छ । कोभिडका कारण गत तीन वर्ष प्रदर्शनी गर्न नपाइएको भन्दै यस वर्ष ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई लक्षित गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । सोह्र करोड जोरसम्म वार्षिकरूपमा उत्पादन गर्ने नेपाली कम्पनीको क्षमता रहेको उल्लेख गर्दै उहाँले रु तीन हजारसम्मका जुत्ता विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । दस करोड जुत्ता नेपाली बजारको माग रहेको बताउँदै अध्यक्ष घिमिरेले गत वर्ष पाँच करोड ६५ लाख नेपाली जुत्ता बिक्री भएको जानकारी दिनुभयो । गत वर्ष विदेशबाट चार करोड बढी र यो वर्ष दुई करोड जोर जुत्ता चोरी तस्करी र वैधानिक तरिकाले नेपाल भित्रिएको उहाँको भनाइ छ । चोरी तस्करीबाट जुत्ता भित्रिँदा त्यसको असर नेपाली उत्पादनमा पर्ने गर्छ । अहिले नेपाली बजारमा नेपालमै उत्पादन भएका ६५ प्रतिशत जुत्ता प्रयोग भइरहेको छ । “अहिलेसम्म ४० देखि ४५ प्रतिशत नेपाली कच्चापदार्थ नेपाली जुत्ता उत्पादनमा प्रयोग हुने गरेको छ, राज्यले सहयोग गरे ७० देखि ८० प्रतिशत नेपालमा उत्पादन भएका कच्चापदार्थ प्रयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सरकारले उद्योग र वाणिज्यलाई फरक किसिमले हेरिदिनुपर्ने भन्दै घिमिरेले दक्ष तालिमको व्यवस्था गरी चोरी–पैठारी सरकारले नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।रासस