इन्द्रावती गाउँपालिका वडा नं ११ र १२ का स्थानीय दिनभरजसो बगरमै भेटिने गरेका छन् । त्यहाँका स्थानीयको आयआर्जनको मूल बाटो नै बगर रहेको छ । घरखर्च चलाउन होस् या केही खर्चको जोहो गर्न स्थानीयलाई बालुवा चाल्नुको विकल्प छैन । इन्द्रावती–११ का गोरे माझी इन्द्रावती नदीको बगरमा टिपरमा बालुवा लोड गर्दै गर्दा भेटिनुभयो । बालुवा चाल्नु र सो बालुवा बेच्नु उहाँको दिनचर्या बनेको छ । उहाँलगायत अरु दुई÷चार जनाको समूहले चालेर जम्मा गरेको बालुवा लिन टिपर आउने गरेका छन् । बिहानैदेखि दिनभरी बालुवा जम्मा गरेर नबेचे बेलुका घरको चुलो बल्न समस्या हुने उहाँले बताउनुभयो । आर्थिकरुपमा विपन्न तथा बेरोजगार परिवारका माझीले विगत लामो समयदेखि बगरमा बालुवा चाल्दै आउनुभएको छ । बालुवा चालेर बिक्री गरी आएको रकमले उहाँको परिवारको घरखर्च चल्दै आएको छ । ‘सिजन’मा रु ५०÷६० हजारसम्म आम्दानी गर्ने उहाँले बताउनुभयो । सो पैसाले घरको खर्च धान्न र अरु काममा खर्च प्रयोग गर्ने उहाँले बताउनुभयो । सामूहिकरुपमा बगरमा बालुवा चाल्ने काम गर्दै आएका दनुवार तथा माझी समुदायका स्थानीयलाई एक टिपर लोड गरेबापत रु तीन हजार पाँच सय आउने गरेको छ । कुनै दिनमा दुई÷तीन गाडीसम्म लोड गर्न सकिने उहाँको भनाइ छ । बेरोजगार भएकाले आम्दानीको स्रोत बनेको बगरबाट आएको पैसाले घरको खर्च चलाउनुका साथै विवाह, छेवरलगायतका पर्वमा खर्च गर्नुपर्ने हुन्छ तर बालुवा चालेको रकम पर्याप्त नहुने उहाँले बताउनुभयो । “बेरोजगार भएकै कारण बालुवा चाल्नु परेको हो, पढाइ पनि छैन र अरु सिप पनि छैन”, उहाँले भन्नुभयो । रासस