ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गर्नुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उहाँको घरलाई सङ्ग्रहालय बनाउने बताउनुभएको हो । तेह्रौँ शताब्दीका प्रसिद्ध कलाकार अरनिको नेपालबाट १७ वर्षको उमेरमा ९९ जना कलाकारको टोलीको नेतृत्व गरी चीनमा गएर त्यहाँ नेपाली कला र कौशलको प्रचारप्रसार गरेको भन्दै महर्जनले अरनिकोको जन्मस्थल ललितपुर जिल्ला भएको तथ्य औँल्याउनुभयो । “उहाँ बसेको घर जेजस्तो अवस्थामा छ त्यसको संरक्षण र सम्वद्र्धन गरी त्यसलाई सङ्ग्रहालयका रुपमा विकास गर्न प्रतिबद्ध छु”, उहाँले भन्नुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपतिद्वय किरण मानन्धर र कान्छाकुमार कर्माचार्यको विशिष्ट आतिथ्यमा महानगरपालिकाका प्रमुख महर्जनको हातबाट १६ जनाभन्दा बढी कलाकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । सो अवसरमा महर्जनले शताब्दी पुरुष, संस्कृतविद् एवं अरनिकोविद् सत्यमोहन जोशीको अनुशरण गर्दै महानगरले धेरै काम गरेको बताउनुभयो । उहाँले सत्यमोहन जोशीले १९७१ सालमा अरनिकोबारेमा पुस्तक निकालेपछि मात्रै नेपालमा अरनिकोलाई राष्ट्रिय विभूतिको स्थान दिइएको उल्लेख गर्नुभएको थियो ।रासस