‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो । यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको हो । उपाधि विजेता नेर्पाले नगद रु दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता डिएफसीले नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गाले नगद रु २५–२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक (डिएफसी)का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स (डिएफसी)कै टेकेन रानामगर, उत्कृष्ट मिडफिल्डर (डिएफसी)का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भूषण ताम्राकार घोषित भएका छन् ।