गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो । रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुको सङ्ख्याका आधारमा साप्ताहिक दुई दिनको उडान पनि भर्न सकिने छ । तर अझै हप्ताको कुन बार उडान हुने भन्ने निर्णय भइसकेको छैन । रेसुङ्गा नगरपालिका र तारा एयरको समन्वयमा पहिलो चरणका केही नियमित उडान हुनेछन् । यात्रु भएमा मात्र नियमित उडान गर्ने तारा एयरको तयारी छ । रेसुङ्गा विमानस्थलबाट सफल परीक्षण भएको र अब तारा एयरको प्राविधिक समूह आएर काम गर्नाका साथै कर्मचारी राखेपछि बढीमा दुई हप्तापछि नियमित उडान गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले बताउनुभयो । “हामीले नाफाका लागि नै उडान गर्ने हो, जसका लागि पर्याप्त मात्रामा यात्रु हुनुपर्छ”, प्रवक्ता बर्तौलले भन्नुभयो, “यात्रु भएमा हामीले साप्ताहिक रुपमा एक पटक र बढीमा दुई पटक नियमित उडान गर्नेर्छौं ।” उहाँका अनुसार गुल्मीदेखि काठमाडौँसम्म जहाजको यात्रा ४५ मिनेट र भाडा रु आठदेखि नौ हजारको बीचमा रहनेछ ।रासस