कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको साधनको प्रयोग गरी किउलतिम्बुसम्म पुग्न सकिन्छ । खासगरी स्थानीय स्रोत र साधनबाट बनाइएका आकर्षक होटल, पाहुनाघर, लाङटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोलाको छहरा, भौगोलिक विविधता, स्थानीय उत्पादनबाट बनेका परिकार, ह्योल्मो जातिको रीतिरिवाज, गुम्बा, घ्याङ, ग्रेटटेल, पाल्चोक मन्दिर नै आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने प्रमुख माध्यम रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ । शेर्पाका अनुसार हेलम्बुको आकर्षक प्रवेशद्वारमा पर्ने तापखर्कस्थित निगालेमा १३ फिट अग्लो गुरु रेम्पोन्छेको आकर्षक मूर्ति र ग्रेटटेल निर्माण गरेपछि पर्यटक बढ्न थालेका छन् । कुनै बेला रसिलो र ज्यादै स्वादिलो अग्र्यानिक स्याउ पाउने हेलम्बुमा अहिले स्याउ पाइँदैन । हेलम्बुको सेर्माथान, छिमी, नाकोते, तार्केघ्याङका गाउँमा स्याउ फल्न छाडेको स्थानीय कर्मातोक्पे लामाले बताउनुभयो । स्याउ उत्पादन हुन छाडेपछि लामो समय आलु, मुला र करु खेतीमा सीमित भएका स्थानीयवासीले वैकल्पिक खेती भेट्टाएपछि उत्साहित भएका छन् ।रासस