गृहमन्त्रालयबाट निर्देशन भएपश्चात तनहुँमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका छन् । मापदण्ड विपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका हुन् । दर्ता नभएका, सञ्चालनको अनुमति नलिएका र नवीकरण नगरिएका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधनमा संलग्न रहेका जिल्लाका क्रसर उद्योग बन्द गरिएको छ । गत बुधबार गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई दर्ता र नवीकरण नभएका तथा मापदण्ड पालना नगरेका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि तनहुँमा सञ्चालनमा रहेका सबै क्रसर उद्योगमा ताला लगाइएको छ । दर्ता र नवीकरण नभएका क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्लामा पनि यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । गृहले प्रशासनमार्फत जिल्लामा सञ्चालनमा रहेका दर्ता र नवीकरण नभएका सबै क्रसर उद्योग तत्काल बन्द गर्न आदेश जारी गरेपछि जिल्ला अनुगमन समितिको बैठक बसेर तत्काल क्रसर बन्द गर्ने निर्णय भएको वाग्लेले बताउनुभयो । क्रसर उद्योग सञ्चालित पालिकाका प्रमुखकै उपस्थितिमा गृहको परिपत्र कार्यान्वयनका लागि छलफल भएर बैठकले तत्काल बन्द गर्ने निर्णय हो ।रासस