धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उहाँको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधुपले उहाँलाई कामको बढी चाप हुन्छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कैलालीमा कार्यरत उहाँले भन्नुभयो, “तोकिएको ठाउँठाउँमा पुगेर बचत सङ्कलन गर्नुपर्छ, न्यूनतम पारिश्रमिकका अलावा बचत सङ्कलन गरेबापत कमिसन पनि पाउँछौँ ।” धनगढीकै तारा चौधरीले पनि बचतकर्ताको घरसम्मै पुगेर बचत सङ्कलन गरिरहनुहुन्छ । सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिनु भएकी उहाँले भन्नुभयो, “बचत सङ्कलनको काममा आफू सहित नौ महिलाले काम पाएका छौँ, आफ्नो कामबाट सन्तुष्ट छौँ ।” गाउँ टोलमा धमाधम खुलिरहेका सहकारी संस्थाले गरिरहेको बचत सङ्कलनमा धेरै युवती र महिला जोडिएर काम गर्न पाउँदा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको छ । प्रायः सबै सहकारीले बचत सङ्कलनको जिम्मेवारी महिलालाई दिने गरेको देखिन्छ । “काममा लगनशील र इमान्दार हुन्छन् भन्ने बुझाइले बचत सङ्कलनको जिम्मेवारी महिलालाई दिएको हुनसक्छ”, अनिताले थप्नुभयो, “यस्तो कामको जिम्मेवारी पाउँदा धेरै महिलाले रोजगारी पनि पाइरहेका छन् ।” बचत सङ्कलन गर्ने महिलाले सम्बन्धित सहकारी संस्थाबाट न्यूनतम् पारिश्रमिकका अलावा सङ्कलित रकमबाट तोकिएको ‘कमिसन’ समेत पाउने गरेका छन् । बचत सङ्कलन गरी बिना कुनै झण्झट सहकारीका सदस्यमा ऋण लगानी गरिरहेका सहकारी संस्थाको गतिविधिबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको सहकारी आन्दोलनका अगुवाको अनुभव छ ।