मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको सङ्ख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्ने कार्य अन्तिम अवस्थामा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । आगामी माघभित्रमा यसको प्रकाशन गरिने तयारी छ । पहिलोपटक पालिकास्तरदेखि नै कृषकको अवस्था खेतीपाती गरिएका कित्ताको क्षेत्रफल, उत्पादनलगायत विषय सङ्कलन गरिएको हो । देशभरको कृषि क्षेत्रका समग्र विषयवस्तु सङ्कलन गर्ने कार्य नै राष्ट्रिय कृषि गणना हो । विसं २०१८ देखि प्रत्येक १०÷१० वर्षमा कृषि गणना हुँदै आएको छ । यस क्रमको यो सातौँ राष्ट्रिय कृषिगणना २०७८ को चैत, वैशाख र जेठमा सञ्चालन गरिएको तथ्याङ्क अधिकृत गणेश फुयाँलले जानकारी दिनुभयो । यसपटकको राष्ट्रिय जनगणनाअन्तर्गत पारिवारिक विवरण सङ्कलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको सङ्ख्या सङ्कलन गरिएको थियो । सोही लगतका आधारमा ७७ जिल्लाका सात सय ५३ गाउँपालिका र नगरपालिकामा वैज्ञानिक छनोट विधिले छानिएका गणनाक्षेत्र (वडा, वडाखण्ड) मा रहेका कृषक परिवारको सूची अध्यावधिक गरी निश्चित मात्रामा कृषक परिवार छानिएका र कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषिचलनसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिएको छ ।
