आजभोलि दिनहुँजसो तमानखोला गाउँपालिकाको कार्यालय परिसरमा शिरमा निलो छातेटोपी, जीउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको युवा देखिनुहुन्छ । उहाँ गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र काममा सहयोग गर्नुहुन्छ । उहाँको कामले गाउँपालिका आउने सेवाग्राही पनि खुसी देखिन्छन् । उहाँ हुनुहुन्छ तमानखोला गाउँ कार्यपालिका सदस्य ढालेन्द्र छन्त्याल । छन्त्याल एक वर्ष अगाडिसम्म दर्जनाँै भेडाबाख्रासँग लेक बेँसीमा भेटिनुहुन्थ्यो तर अहिले उहाँ गाउँपालिकाको कार्यालयमा भेटिनुहुन्छ । ३९ वर्षीय छन्त्याल गत स्थानीय निर्वाचन हुँदासम्म भेडी गोठाले हुनुहुन्थ्यो । स्थानीय निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित भएपछि उहाँ भेडापालन छोडेर राजनीतिमा होमिनुभएको छ । सानैदेखि राजनीतिमा चासो राख्ने छन्त्याल स्थानीय तह निर्वाचन २०७४ मा वडा सदस्यमा पराजित हुनुभएको थियो । वडा सदस्यमा हारेपछि छन्त्यालले निरन्तर भेडापालनमै होमिनुभयो । गत स्थानीय तहको निर्वाचनपछि जनताको सेवा गर्ने हुटहुटीले गर्दा व्यवसाय छोडेर राजनीतिमा होमिएको छन्त्याल बताउनुहुन्छ । उहाँले बाउबाजेले गरेको पेसालाई आफूले पनि निरन्तता दिँदै आएकोमा अहिले छाडेर राजनीतिमा लागेको बताउनुभयो । छन्त्यालले नेता कार्यकर्ताले यस पटक कार्यपालिका सदस्यमा आउन जोड गरेको र आफ््नो पनि रुचि भएको हुँदा भेडापाल्न छोडेर राजनीतिमा आएको बताउनुहुन्छ ।