स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल मेडिकल कलेजको ६१ लाख चार हजार ९४ र बिपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख नौ हजार ६१ रहेको छ । अन्यको दाबी सङ्ख्या कम छ । अस्पतालका बीमा विभाग प्रमुख लीलाधर पौडेलका अनुसार अस्पतालले बीमा बोर्डबाट हालसम्म रु ९७ करोड ६३ लाख ११ हजार आठ सय २७ प्राप्त गरिसकेको छ । रु १५ करोड हाराहारी दाबी गरी पठाइएको भुक्तानी हुन बाँकी छ । विसं २०७४ भदौ १ गतेदेखि यहाँ बीमा लागू भएको हो । चितवनसहित तनहुँ, गोरखा र नवलपरासीका नागरिकले प्रथम बिन्दुका रुपमा भरतपुर अस्पताललाई राखेका छन् । पौडेलका अनुसार ‘रिफर’ भएर आउने बिरामी २२ भन्दा बढी जिल्लाका छन् । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । पुस ११ गते एक दिनको तथ्याङ्क हेर्दा एक हजार चार सय ६५ बिरामी बहिरङ्ग सेवामा आएकामा एक हजार ७६ जना अर्थात् ७३ प्रतिशत बीमाका रहेका थिए । चितवनमा हाल स्वास्थ्य बीमा गर्नेको सङ्ख्या चार लाख १६ हजार आठ सय ५१ छ । स्वास्थ्य बीमामार्फत दाबी गर्ने औषधिमा ग्यास्ट्रिकका बढी छ । उपचारतर्फ सबैभन्दा बढी बहिरङ्ग सेवा लिनेछन् । रोग परीक्षणतर्फ उच्च रक्तचापका बिरामी बढी हुने गरेको पौडेलले जानकारी दिनुभयो ।