प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । “सिङ्गो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा प्रतिनिधिसभामा विजयी गराउनुभएकामा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पु¥याउन योगदान दिएकामा पनि धन्यवाद दिएको छ । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेकामा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई आभार व्यक्त गरेको मुख्य सचेतक लेखकले जानकारी दिनुभयो । “निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सञ्चारगृहप्रति उच्च सम्मान प्रकट गरेको छ”, उहाँले भन्नुभयो । बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई दिनका लागि बैठक आयोजना गरेको हो । यही पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।