जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागतअनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरे पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य यथावत रहनुले समस्यामा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पशु आहारको मूल्यवृद्धि भएअनुसार उत्पादित दूधको मूल्यसमेत बढाउन आवश्यक छ ।” राज्यले किसानलाई स्वरोजगार बन्न भनेको भए पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य उचित नपाउँदा समस्या भएको उहाँको भनाइ छ । पशु आहारका लागि दाना, चोक्कर, औषधिलगायतको मूल्यमा भएको वृद्धिको अनुपातमा दूधको मूल्य वढाउन पाउनुपर्ने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–२४ जगतपुरका हरिप्रसाद अधिकारी अहिले दूधको मूल्यभन्दा उत्पादन मूल्य बढी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “प्रतिलिटर दुध उत्पादनका लागि रु ७० पर्छ । हामीले दूध बेच्दा रु ५६ देखि ६० मा बेच्नुपरेको छ ।” दूधको मूल्य नबढ्दा दुग्ध उत्पादक कृषक पलायन हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । । उहाँले भन्नुहुन्छ, “दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि राज्यले ठोस कदम चाल्नुपर्छ ।” सरकारले किसानको समस्या समाधानका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
