जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको जनाएको थियो । जिल्लास्थित विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले आजदेखि जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग बन्द गर्ने निर्णय गरेको हो । बैठकले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननबाट विपद्जन्य घटना घटिरहेको निष्कर्षसहित प्रचलित कानुनविपरीत ढुङ्गा, गिट्टी, रोडा, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न अवैधानिक क्रसर तथा खानी उद्योग बन्द गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । उहाँका अनुसार क्रसर तथा खानी उद्योगी व्यवासयीलाई जिल्ला प्रशासन कार्यालयमा आफ्ना दर्ता एवं नवीकरणका कागजात पेस गर्न भनिएको छ । केही दिनअघि मात्रै गृह मन्त्रालयबाट सबै प्रशासन कार्यालयलाई अवैधरुपमा सञ्चालनमा आएका क्रसर तथा खानी उद्याग बन्द गराउन पत्राचार गरिएको थियो । “परिपत्रअनुसार नै बन्द गराउने निर्णय गरेका हौँ, व्यवसायीसँग दर्ता नवीकरणको कागजात मागेका छौँ, कागजात पुगेकालाई क्रमशःखोल्दै जानेछौँ”, प्रजिअ पाण्डेले भन्नुभयो । उहाँका अनुसार जिल्लास्थित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखको उपस्थितिमा हाललाई सबै क्रसर तथा खानी उद्योग बन्द गर्ने निर्णय गरिएको हो ।
