कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ । दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुईवटा पालिकाको काम गर्दै आउनुभएको छ । कर्मचारी पठाउन आग्रह गरेको र अहिलेसम्म कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कर्मचारी अपुग भनेर भनेका छाँै, प्रशासकीय अधिकृतले दुईवटा पालिकाको जिम्मेवारी लिनुभएको छ ।” प्रदेशका अन्य स्थानीय तहमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । चारवटा पालिका रहेको मुगुमा चारवटै पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीलाई निमित्तमा राख्नुपर्ने बाध्यता छ । जिल्ला समन्वय समिति कार्यालय मुगुका प्रमुख मन्जनबहादुर कार्कीले भन्नुभयो जिल्लाका चारवटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले निमित्तको भरमा चलिरहेको बताउनुभयो । छ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा पनि तीनवटा नगरपालिकामा अधिकृत तहका कर्मचारी नहुँदा निमित्तकै भरमा सञ्चानल भइरहेका छन् । प्रदेशमा कतिपय मन्त्रालयका कार्यालयले पनि यस्तै समस्या भोग्दै आएका छन् ।