भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो । दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिनुभयो । “तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा प¥यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ”, प्रधानाध्यापक श्रीषले भन्नुभयो, “अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ । दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ ।”