विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आउनुभएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गर्नुभयो । शिक्षण पेसाबाट अवकाश हुनुभएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उहाँ बताउनुहुन्छ । घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन् । घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ । झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ । विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन् । केही बोटलाई एक दुई वटा टेका दिइएको छ ।