तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो । अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् । म्याग्दे गाउँपालिका–४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आश पलाएको बताउनुभयो । “भूमिको नाममा कहीँकतै केही नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उहाँले भन्नुभयो, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।” सोही ठाउँ निवासी जुना थापा पनि निस्सा पाएपछि खुसी हुनुहुन्छ । “आफ्नो नाममा अहिलेसम्म जग्गा छैन, निस्सा वितरण गरेपछि जग्गा नापजाँच कार्य सुरु हुन्छ,” उहाँले भन्नुभयो, “अब मेरो नाममा पनि जग्गा हुन्छ की त भन्ने आश जागेको छ ।” भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने श्रेष्ठको भनाइ छ । वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । निस्सा वितरण सुरुआत पहिला नै गर्न लागिएको भए तापनि निर्वाचनका कारण रोकिएको हँुदा ढिलो भएको घिमिरेले बताउनुभयो ।