पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरु भन्नुहुन्छ, “केही समय नेतृत्वविहीन हुँदा बन्द भएको पुस्तकालयले अहिले नयाँ जीवन पाएको छ ।” पुस्तकालयलाई व्यवस्थित गर्दै लैजाने क्रममा ‘इ लाइब्रेरी’को रुपमासमेत विकास गर्न लागिएको बाँकेका साहित्कार तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजङ्ग पिटरले जानकारी दिुनभयो । उहाँले साहित्यप्रति युवापुस्ताको आर्कषण बढाउन र विश्व साहित्यको अनुशरण गर्न ‘इ लाइब्रेरी’ फलदायी हुने विश्वास व्यक्त गर्दै गजल साहित्यमा युवाको आकर्षण बढेको छ भन्नुभयो । बाँकेमा खास गरी शनिबारका दिन नेपालगञ्ज र आसपासका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम हुँदै आएका छन । जिल्लाको खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकामा त्यस्ता साहित्य सिर्जनाका कार्यक्रम हुँदै आएको बताइएको छ । नेपालगञ्जमा रहेको भेरी साहित्य समाज, मध्यपश्चिम साहित्य स्रष्टालगायतका साहित्यिक संस्थाले साहित्य सिर्जनामा ठूलो योगदान गरेका छन । “पुस्तकालयका लागि जेनेरेटर, माइक किन्ने र नयाँ पुस्तक समेत किनेर वाचनालयलाई समेत व्यवस्थित बनाउने प्रयास भइरहेको छ”, साहित्यकार पिटरले भन्नुभयो । कोहलपुरमा ज्ञानोदय पुस्तकालय र पूर्णिमा साहित्य संस्थाले साहित्य र सिर्जनाको जर्गेना गरेका छन् ।