राष्ट्रियसभाका सदस्यले मुलुुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न संसदीय समिति र सञ्चार क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । दीगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित ‘सुशासन प्रवद्र्धनमा सांसद तथा मिडियाको भूमिका’ विषयक छलफलमा सहभागी वक्ताले राष्ट्र र जनहितका लागि दुवैको भूमिका प्रश्न गर्ने भएकाले मिलेर जान आवश्यक रहेको बताउनुभयो । समिति सदस्य बामदेव गौतमले संसद्ले प्रधानमन्त्री बनाउने तथा सांसद मन्त्री हुने शासन प्रणाली गलत भएकाले त्यसलाई नसच्याएसम्म भ्रष्टाचार अन्त्य गर्न चूनौति हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जसले भ्रष्ट्राचार विरुद्ध आवाज उठाउँछ, त्यसलाई निर्वाचन हराउने प्रवृत्ति बाहिर मात्र होइन, पार्टीभित्र पनि छ, व्यक्ति–व्यक्ति भ्रष्टाचारमा सङ्लग्न छन् । जनतामा आधारित शासन, भ्रष्टाचारलाई फेला पार्ने कानून र त्यसमा संलग्न हुनेलाई कारवाही गरिने संस्कृति र परम्परा बसाल्नेतर्फ जानुपर्छ ।” समिति सभापति प्रकाश पन्थले सदन वा समितिको बैठकमा व्यक्ति विशेषले बोलेको एउटै शब्द भाइरल हुने तर अर्काेले स्थान नै नपाउने गुनासोलाई सञ्चार क्षेत्रले अन्त्य गर्न सक्नुपर्ने बताउनुभयो ।