सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इञ्जीनियरिङ र कृषि विज्ञानतर्फ हाल एक हजार दुई सय ३० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । उहाँका अनुसार शैक्षिकसत्र २०७७÷७८ मा प्राविधिकतर्फ आठ सय ८६ विद्यार्थी मात्रै भर्ना भएकामा २०७८÷७९ मा एक हजार दुई सय ३० विद्यार्थी भर्ना भएका थिए । यसैगरी शैक्षिकसत्र २०७६÷७७ मा छ सय ७१ विद्यार्थी भर्ना भएका थिए । पछिल्ला शैक्षिकसत्रमा प्राविधिक विषय बढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी विष्टले बताउनुभयो । “सबै सङ्कायमा सुदूरपश्चिम विश्वविद्यालयमा हरेक वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ, विशेषगरी प्राविधिक विषय पढ्न आउने धेरै छन्”, उहाँले भन्नुभयो, “अहिले विश्वविद्यालयमा १७ हजार दुई सय ३८ विद्यार्थी अध्ययनरत छन् ।” सुदूरपश्चिम विश्वविद्याल आङ्गिक क्याम्पसका हिसाबले नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो । हाल सुदूरपश्चिमका १६ आङ्गिक क्याम्पस यसमा आवद्ध छन् । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विद्यार्थीको चाप बढेको बताउनुभयो । उहाँका अनुसार विज्ञान प्रविधि, इञ्जीनियरिङ, कृषि विज्ञान, व्यवस्थापन र कानुन सङ्कायमा विद्यार्थीको अत्यधिक चाप छ ।