सुर्खितको वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा कसैले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्दैनन् । बाह्र वर्षअघि घण्टाघरका घडीमा टिङटिङ टिङटिङ आवाज आउँथ्यो । सोही आवाज सुनेर कति बज्यो भनेर थाहा पाउँथे । बाटो हिँड्ने बटुवा, घण्टाघर हेर्न पुगेका पर्यटक र स्थानीयले समय सहजै थाहा पाउँथे तर घण्टाघरको चार दिशामा रहेका चार घडीका सुईले १२ वर्षदेखि कहिल्यै समय फेरेका छैनन् । घडी सधैँ स्थिर छन्, सुई जाम भएर समय सधैँ उही देखाइरहेका छन् । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । घण्टाघर रहेको स्थानमा उद्यान छ । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको ९० प्रतिशतभू–भाग दृश्यावलोकन गर्न सकिन्छ । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल बिताइसके । उहाँहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सक्नुभएन । यसपटकको स्थानीयतह निर्वाचनमा पनि मतदाताले ‘घण्टाघरको सुई कहिले घुम्छ रु’ उम्मेदवारसँग प्रश्न गरेकै हुन् ।