लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताउनुभएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा उहाँले सहकारीले उत्पादनमा ध्यान दिएर ऋणको कारोबार बैङ्कबाट गर्नुपर्ने बताउनुभयो । “एकाध सहकारीबाट वचतकर्ताको पैसा हिनामिना भयो भन्दा व्यापक प्रचारप्रसार भएको छ, बैङ्कबाट धेरै हिनामिना हुँदा पनि त्यसको प्रचारप्रसार भएको छैन, सहकारीमा धेरैजनाको पैसा भएकाले बढी प्रचारप्रसार भएको हो, गलत काम गर्ने सहकारीलाई कानूनी कारबाही गरेर सहकारीलाई मूल्य, मान्यताका आधारमा अघि बढाउनुपर्छ”, प्रदेश प्रमुख शेरचनले भन्नुभयो । सहकारीका माध्यमबाट अर्थतन्त्रको जग बलियो बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसअनुसार काम गर्न प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । समितिका अध्यक्ष काशीराज दाहालले संविधानको मर्म सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सक्छ भन्ने रहेकाले त्यसअनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सहकारी ऋण दिने कम्पनी र बैङ्क नभई जनतालाई सेवा दिने पद्धति भएकाले त्यस अनुरुप हिँडाउन स्थानीय तहको भूमिका हुने विचार उहाँले राख्नुभयो । ८० प्रतिशत सहकारी स्थानीय तहको कार्यक्षेत्रमा रहेकाले त्यसै अनुसार काम गर्न सक्षम बनाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिको अध्यक्षसमेत रहनुभएका दाहालको भनाइ थियो ।