म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गुर्जामा इटालियन जातको उच्च घनत्वको स्याउका बिरुवा काठमाडाँैदेखि लगेर रोपिएको छ । कृषि ज्ञानकेन्द्र म्याग्दीको ५० प्रतिशत र धवलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा गुर्जाका २५ किसानले इटालियन जातको स्याउका आठ सय बिरुवा लगाएका हुन् । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित उच्च घनत्वको हाइब्रिड जातको स्याउ लगाएका हुन् ।
