सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिनुभएको हो । गाउँको नवसिर्जना र असारे युवा क्लबले चलाएको आर्थिक सहयोग अभियानबाट रोकाले पुनःजीवन पाउनुभएको हो । भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकले रोकामा मिर्गौला प्रत्यारोपण गरेको उहाँका भिनाजु कुलबहादुर रोकाले बताउनुभयो । रोका र मिर्गाैला दान दिने पूर्णमाया अहिले चिकित्सकको निगरानीमा हुनुहुन्छ । कुलबहादुरका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । “धेरै जनाले सहयोगको हात फैलाउनुभयो, उपचार सफल भएको छ, स्वास्थ्य अवस्था पनि राम्रो छ”, उहाँले भन्नुभयो, “गाह्रोसाह्रोमा सहारा दिनुहुने सबै हाम्रो परिवारका लागि धन्य हुनुहुन्छ, सहयोग रकमले लगभग उपचार खर्च धान्ने देखिएको छ ।” अभियानबाट जुटेको रु १५ लाख ३५ हजार गत कात्तिकमा रोकाका परिजानलाई हस्तान्तरण गरिएको थियो । नवर्सिजना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार उक्त रकममध्ये रु ६५ हजार बहराइनमा रहनुभएका जीवन रोकामगरको अगुवाइमा उठेको थियो । परिवारको आग्रहमा दुई क्लब मिलेर सहयोग अभियान चलाएका थिए । “देशविदेशबाट धेरै सहयोगी अभियानमा जोडिनुभयो, त्यही कारण आज एउटा युवाले पुनःजीवन पाउनुभएको छ”, अध्यक्ष न्यूरेले भन्नुभयो, “अर्थाभावले उपचारबाट बञ्चित हुनुपर्ने स्थिति आउँदा यसअघि पनि हामीले यसरी नै गाउँमा रकमको जोहो गरेका धेरै उदाहरण छन् ।”
