विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्णखोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनुभएको थियो । उहाँले महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्णखोप लिएको नलिएको यकिन कार्य भइरहेको बताउनुभयो । महाशाखा प्रमुख अलीले नलिएका बालबालिकालाई खोजी गरेर खोप दिई सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै १० प्रतिशत बालबालिकाले पूर्णखोप लगाउन बाँकी रहेको सुनाउनुभयो । सात पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्णखोप लगाएको मानिने उहाँको भनाइ थियो । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र बस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्णखोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अङ्कसमेतमा वृद्धि हुने बताउनुभयो ।