गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताउनुभयो । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । देशमै सबैभन्दा धेरै सुन्तला खेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । तनहुँमा १२ हजार पाँच सय ४०, कास्कीमा आठ हजार तीन सय ७१, गोरखामा छ हजार एक सय ४६, पर्वतमा चार हजार चार सय, बागलुङमा चार हजार १५, म्याग्दीमा तीन हजार छ सय ९३ र नवलपुरमा आठ सय ७५ टन सुन्तला उत्पादन भएको छ । मुस्ताङ र मनाङमा भने सुन्तला खेती हुँदैन ।