भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डभित्र भेरी नदीमाथि निर्माण गरिएको अस्थायी पुलबाट डोल्पा जाने सवारी साधनमा रोक लगाइएको छ । यस सडकखण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन राखिएको ह्युम पाइपबाट नदी तार्न स्थानीय कामदार जग्गा धनीले रोक लगाएका हुन् । चौरजहारीस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरेरै नेपालगञ्जदेखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलबाट डोल्पा आउने सवारीसाधनका लागि रोक लगाइएको तर रुकुम पश्चिमको गोतामकोट गाउँ जोड्ने बाटो कालोपत्रेका लागि यति विल्ड्रस प्रालिलाई निर्माण भने सामग्री ढुवानी गर्न दिइएको छ । रुकुम र जाजरकोटका कामदार र जग्गाधनीले नेपालगञ्ज दाङ, काठमाडौँ र सुर्खेतबाट सीधै आउने मालवाहक गाडीलाई तल्नुबगरस्थित भेरी नदीमा राखिएको ह्युम पाइपद्वारा बनाएको पुल तर्न नदिएको डोल्पाका ढुवानी व्यवसायी खिमबहादुर सिंहले जानकारी दिनुभयो । स्थानीय ठेकेदारका मात्र मालवाहक गाडीलाई पुल पार गर्न दिने तर डोल्पा आउने गाडीलाई नदिँदा डोल्पाली उपभोक्ता महँगीको मारमा परेको उहाँको भनाइ थियो । तल्नुबगरका कामदार र जग्गाधनीने मालवाहक गाडीलाई अस्थायी पुल तर्न नदिएपछि डोल्पामा दैनिक उपभोग्य सामान सीधै जान नपाएको गुनासो बढेको छ । नेपालगञ्ज र दाङदेखि सीधै रु १० प्रतिकिलोमा आइपुग्ने सामान अहिले रु बाह्रदेखि रु अठारसम्म सर्वसाधारण तिर्न बाध्य छन् । तल्नुबगरमा स्थानीय कामदारले अवरोध गरेपछि एउटा ट्रकको मात्र सामान लोड–अनलोड गर्नुपर्दा डोल्पाली उपभोक्ताले किन्ने सामानमा प्रतिकिलो रु दशसम्म मूल्य जोडिने अर्का व्यापारीले बताए ।