सिँचाइको अभावमा तनहुँका धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । खेतीयोग्य जमिनको उपभोग गर्नुपर्छ भन्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरी उपयोग तथा त्यस्ता जग्गाको सदुपयोगमा जोड दिएको छ । सोहीअनुरुप प्रदेश सरकारले प्रदेश सर्शत अनुदानअन्तर्गत साना सिँचाइ कार्यक्रमले तनहुँमा सिञ्चित क्षेत्र बढाएको छ । तनहुँको म्याग्दे गाउँपालिका–७ पयर राधेटारीस्थित पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिले कृषि ज्ञान केन्द्रमार्फत पाएको अनुदानबाट खेतीयोग्य भूमि बढाएको छ । केही क्षेत्रफलका लागि मात्रै सिँचाइ हुने क्षेत्र अहिले ज्ञान केन्द्रको साना सिँचाइ कार्यक्रमअन्तर्गतको अनुदानले यस क्षेत्रको उब्जनी बढेको पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिका संयोजक चतुरबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रका ३५ घरधुरीको समूहले मात्रै सिँचाइ गरेको अनुदान रकमले कुलो निर्माण गरी सिञ्चित क्षेत्र बढाएको छ । ज्ञान केन्द्रबाट रु एक लाख ८७ हजार दुई सय ७० अनुदान पाएको नेपालीले जानकारी दिनुभयो । “साठी मिटर कुलो बनाएर ल्याएको सिँचाइबाट त्यस क्षेत्रमा दुई खेती धान, आलु, मकैखेती गरिँदै आएको छ, उक्त नहरको सिँचाइले ६५ घरधुरी लाभान्वित भएका छन्”, नेपालीले भन्नुभयो । पक्की कुलो निर्माण गरिए पनि त्यस क्षेत्रमा अझै पानी अपुग रहेको र रकम अपुग भएको उहाँले बताउनुभयो ।
