कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म÷पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा आठ सय १३ जनाले लिएका छन् । यस्तै औषधालय सेवा २९ हजार आठ सय २३ जनाले लिएका छन् । आव २०७६÷७७ मा आठ हजार सात सय १२ जनाले सेवा लिएका थिए भने आव २०७७÷७८ मा १२ हजार छ सय ६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । अधिकारीले भन्नुभयो, “पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन् ।”