लोहकिलडाँडाको चिसो बतासले भेट्ने फिदिम नगरपालिका–८ घुमाउनेटारका स्थानीयवासी चिसोका कारण चाँडै खाना खाइ ओच्छ्यानमा पुगेका थिए । राति १० नबज्दै शीतले निथ्रुक्कै भिज्ने गाउँबस्तीमा थोरै मानिस मात्रै अलि लामो समय जागै रहन्थे । तर मध्यरात स्थानीय स्वास्थ्य चौकी नजिकैबाट मानिसको चिच्याहट र आगोको मुस्लो निस्किएपछि यहाँका स्थानीयवासीको होस् उड्यो । कठ्याङ्ग्रिने चिसो भए पनि बुधबार मध्यरात १.३० बजे गाउँलेहरु अत्तालिँदै स्वास्थ्य चौकी नजिकै रहेको मेघबहादुर गुरुङको घरमा पुगे । गाउँले भेला हुँदा मेघबहादुरको तीन तले घरको दोस्रो तला जलिरहेको थियो । “चिच्याहटपछि भूकम्प होला भनेर उठेको त आगोले घर नै जलिसकेको रहेछ”, स्थानीयवासी जलकुमार तामाङले भन्नुभयो, “आगोको ज्वाला र धुँवाको मुस्लोले घरको वरिपरी पुग्न सक्ने स्थिति थिएन ।” गाउँलेहरु कसैले प्रहरीलाई खबर गरे कसैले दमकललाई, कसैले गाग्री तथा ड्रममा जम्मा गरिएको पानी आगोमा खन्याउने प्रयास गरेभने कसैले खानेपानीको पाइप आगोमा लगाइदिए । तर काठ र टिनले बनाइएको सो घरको दोस्रो तलमा लागेको आगो सानो प्रयासले निभ्ने अवस्था थिएन । गाउँले मेघबहादुरको घर पुग्दा घरको बरण्डाको तल्लोपट्टिको कोठाबाट ‘बचाओ–बचाओ…’ भन्ने चिच्याहट आइरहेकै थियो । तर माथिल्लो पट्टिबाट सुरु भएको आगो सो कोठाको ढोकासम्म दन्किइसकेको थियो । झ्यालमा रड हालिएकाले भाग्नसक्ने अवस्था पनि थिएन । सोही अप्ठ्यारोमा परेर गएराति मेघबहादुरको घरमा भएको आगलागीमा परी मेघबहादुरकी कान्छी छोरी २२ वर्षीया ममता गुरुङ र २३ वर्षीया कान्छी बुहारी आशाङसिंह थेबे (गुरुङ)को ज्यान गयो ।