विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ । दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन् । करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन । अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरीलगायतका खाद्य बाली उत्पादन गरी यहीबाट जीवन चलाउथे । पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्ररुपमा बजार विस्तार भयो । अहिले खौलाराको चारैतिर ठूला–ठूला घर भवन निर्माण भइरहेका छन् । पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउनुहुन्छ । उहाँले लोकमार्गले जोडिएपछि यो ठाउँका मुहार फेरिएको बताउनुभयो । सडकले नजोडिँदा यहाँ चार÷पाँच वटामात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला–ठूला सहरमा जस्तै भवन बनेको घिमिरेले सुनाउनुभयो । अब नुन बोक्न बुटवल जानै नपर्ने उहाँको भनाइ छ । “खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ”, घिमिरेले भन्नुभयो, “खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला ।”